सरावल,८ कार्तिक / पश्चिम नवलपरासीको सरावल गाउँपालिका वडा नम्बर -७ का वडा अध्यक्ष हेयात खाँ धुनियाले सनातन धर्म ( हिन्दु ) मा मानिने आस्थाको महान पर्व छठको अवसरमा वडा भित्रका आफ्ना वडावासीहरुका लागि आफ्नै व्यक्तिगत खर्चमा छठ घाटमा टेन्ट, लाइट र सजावटको सम्पूर्ण व्यवस्था गर्नुभएको छ।
छठ पर्वमा षष्ठी भगवतीको पूजा अर्चना गरी पुत्र, पति र परिवारको कल्याणको कामना गर्ने गरिन्छ।नेपालको विशेष रूपले तराई (मधेश) क्षेत्रमा श्रद्धा एवं भक्तिपूर्वक छठ पर्व मनाइन्छ । छठ पर्वको अवसरमा पञ्चमीका दिनदेखि व्रत बस्ने महिला तथा पुरुषले निष्ठापूर्वक पवित्र जलाशयमा स्नान गरी बेलुकीपख दूध, चामल र सख्खरको खीर पकाई प्रसादको रूपमा आफूले खाने र व्रत नबस्ने परिवारका सदस्यलाई पनि खुवाउने चलन रहेको छ । परम्परा अनुसार छठका दिन साँझ अस्ताउँदो सूर्यलाई जलाशयमा उभिएर पूजासहित अर्घ दिएपछि रातभर नदी तथा तलाउ किनारमा बसी भजनकीर्तन गर्दै भोलिपल्ट सप्तमीका दिन बिहान उदाउँदो सूर्यलाई पुनः अर्घ दिई पूजा विसर्जन गरिन्छ ।छठ पर्वमा मुस्लिम समुदायका व्यत्तिहरुकाे पनि सहभागीता हुन्छ र यो पर्व बिधिबत मनाईन्छ। सनातन धर्मकाे मान्यता अनुरुप पवित्र मनले छठ पर्व मनाउँदा पारिवारिक कल्याण, सन्तानसुख तथा मनोकामना पूरा हुने विश्वास गरिन्छ । र छठ पर्वलाई सफलता पुर्वका मनाउनका लागि वडा अन्तर्गतका गणेशपुर, सानो भुजहवा, ठूलो भुजहवा, बरगदवा (दुई टोल) र मोजरहिया लगायतका ठाउँमा छठ पर्वका लागि आवश्यक तयारी सहित टेन्ट, बत्ती र पूजास्थलको सजावट वडावासीका लागि आफ्नो व्यक्तिगत खर्चमा गरेको अध्यक्ष खाँले बताउनुभयो ।
वडावासीहरूका अनुसार अध्यक्ष खाँको ब्यक्तिगत सहयोगले छठ पर्वमा श्रद्धालुहरूलाई पूजा-अर्चना गर्न सहज वातावरण निर्माण भएको छ। जनताको सेवामा निरन्तर सक्रिय रहेका अध्यक्ष खाँले यसअघि पनि सडक मर्मत, खानेपानी, विद्युत् विस्तार, धार्मिक स्थल व्यवस्थापन लगायतका जनसेवामुखी कार्यहरू गर्दै आइरहनुभएको छ।




.gif)




.gif)