सरावल,१७ भदौ । नवलपरासी पश्चिमको सरावल गाउँपालिका वडा नम्बर -१, बासाबसही नयाँटोल बस्ने ३५ वर्षीय माधवराज चौधरीकाे घरमा राहत बाेकेर सरावल गाउँपालिका पुगेको छ ।रसुवामा आएको विनाशकारी बाढीपछि ६ दिनदेखि माधवराज सम्पर्कविहीन भएका छन्। रोजगारीका सिलसिलामा रसुवा पुगेका चौधरी ट्याक्टर चालकका रूपमा कार्यरत थिए।
परिवारका अनुसार चौधरीसँग सोमबार राति घरमा कुराकानी भएको थियो। त्यसपछि भने उनी सम्पर्कविहीन छन्। रसुवामा आएको बाढीपछि उनको अवस्था अज्ञात रहेको र घरपरिवारका सदस्यहरू उनको खोजीमा जुटिरहेका छन्।
चौधरीको आम्दानीबाटै घरको दैनिक गुजारा चल्दै आएको थियो। आमा राधिका चौधरीसहित एक छोरा र एक छोरी रहेको परिवारको आर्थिक अवस्था अत्यन्त विपन्न रहेको बताइएको छ। परिवारका मुख्य आम्दानीकर्ता नै बेपत्ता भएपछि परिवार झनै संकटमा परेको छ।
माधवराजको अवस्थाबारे जानकारी पाएपछि सरावल गाउँपालिकाका अध्यक्ष सुखाडी प्रसाद चौधरी र उपाध्यक्ष बासमति हरिजन बासाबसही नयाँटोलस्थित उनको घरमै पुगेर परिवारलाई भेटेका छन्। गाउँपालिकाले परिवारको तत्कालीन अवस्थालाई मध्यनजर गर्दै खाद्यान्न सामग्री उपलब्ध गराउनुका साथै आवश्यक सहयोग र आत्मबल प्रदान गरेको छ।यस दुःखद् घडीमा स्थानीय सरकार परिवारको साथमा रहेको बताउँदै गाउँपालिका अध्यक्ष चौधरीले बेपत्ता माधवराजको खोजी तथा परिवारलाई आवश्यक सहयोगका लागि सहजीकरण गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।
बाढीमा बेपत्ता चौधरी सकुशल भेटिएर छिट्टै परिवारको सम्पर्कमा फर्किऊन् भन्ने कामना गर्दै परिवार तथा स्थानीयवासीले खोजी कार्यलाई थप तीव्र बनाउन आग्रह गरेका छन्।
माधवराज चौधरीबारे कुनै जानकारी प्राप्त भएमा ९८००७०२५९१ (सीता कुमारी थारु) मा सम्पर्क गर्न परिवारले आग्रह गरेको छ।स्राेत- राष्ट्रिय दैनिक




.gif)




.gif)